धनगढीमा भोकेस्नल स्कुल भवनको शिलान्यास

धनगढी- धनगढी १८ मा भोकेस्नल स्कुल भवनको शिलान्यास गरिएको छ। धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालित व्यावसायिक तालिम केन्द्र अर्थात् भोकेस्नल स्कुल भवनको सोमवार शिलान्यास गरिएको हो। धनगढी-१८ फूलबारीमा तालिम केन्द्रको शिलान्यास उपमहानगरपालिकाको तर्फबाट प्राध्यापक डाक्टर हेमराज पन्त र युथ फाउन्डेसनको तर्फबाट अध्यक्ष सोम पनेरूले तालिम केन्द्रको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले धनगढी उपमहानगरपालिका सँगको सहकार्यमा काम गर्न पाउँदा एकदमै खुसी लागेको बताएका छन् । उनले व्यावसायिक तालिम केन्द्रले युवा लक्षित ४ प्रकारका सीप विकास तालिम गर्दै आएको बताए । तालिम केन्द्रबाट ५५० घण्टे वेल्डर र ३९० घण्टे प्लम्बर, इलेक्ट्रिसियन तथा फर्निचर मेकर तालिम प्रदान गरिँदै आएको छ । निकट भविष्यमै फूलबारीमै आवासीय भवनबाट युवाहरूले सीपमूलक तालिम लिन पाउने पनेरूले बताएका छन् । अध्यक्ष पनेरूले यस क्षेत्रको कृषिको सम्भावनालाई लक्षित गरी आधुनिक कृषि प्रणाली सम्बन्धी पनि तालिम तथा उपकरण मर्मतमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

तालिम केन्द्र शिलान्यास भएसँगै पहिलो चरणमा एक प्रशासनिक भवन , दुईवटा तालिम व्लक, तीन वटा सानो भवनहरु तथा घेरवार सहितको संरचना निर्माण गरिने छ । तालिम केन्द्र सञ्चालनमा आएको पाँच वर्ष पश्चात युथ फाउन्डेसनले सञ्चालन, व्यवस्थापन साथै संरक्षणको जिम्मेवारी धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ ।

कार्यक्रममा उपस्थित युथ फाउन्डेसनको नेपाली बालबालिका सहयोग कार्यक्रमकी प्रतिनिधि श्रीमती हाजेल ग्रेसले धनगढीमा युवा लक्षित कार्यक्रम सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले युवा लक्षित कार्यक्रम सफल पार्न आर्थिक तथा जनशक्तिको सहयोग गर्ने बताएकी छन् । नगर प्रमुख गोपाल हमालले फुलबारी क्षेत्रमा सञ्चालनमा रहेको व्यावसायिक तालिम केन्द्रमा सुदूरपश्चिमका सबै जिल्लाका इच्छुक युवाले तालिम लिन सक्ने बताए । नगर प्रमुख हमालले सीपमूलक तालिम पश्चात् युवाहरूले विभिन्न स्थानमा सहज रोजगारी पाउने अवस्था निर्माण भएर गरिबी घटाउन सकिने विश्वास गरेका छन् ।

नगर प्रमुख हमालले व्यावसायिक तालिमले रोजगारीका अवसर प्रदान गर्ने र गरिबीको दरलाई घटाउन मद्दत गर्ने बताएका छन् । नगर प्रमुख हमालले निर्माण हुन लागेका भवनहरु नागरिकको सम्पत्ति हो भन्ने ठानेर निर्माण पश्चात संरक्षणमा सबै जनाले ध्यान दिनुपर्ने बताएका छन् । शिलान्यास पश्चात् बोल्दै प्राध्यापक डाक्टर हेमराज पन्तले धनगढी उपमहानगरपालिकाको अहिलेको नेतृत्वले रचनात्मक काम गरिरहेको बताए । उनले उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तालिम केन्द्रबाट सुदूरपश्चिमका युवाहरूले सक्दो बढी लाभ लिनुपर्ने बताए । शिलान्यास कार्यक्रममा उपस्थित अतिथिहरूलाई वडा अध्यक्ष भुवन रिजालले स्वागत गरेका थिए ।

Loading...