बझाङ- बझाङ प्रदेशसभा १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा परी असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वी बहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ । कांग्रेस बझाङ कार्य समिति सदस्य रहेका सिंहले २०५५ साल देखि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को राजनीति थालेका थिए । नेविसंघ पछि उनले तरुण दलमा राजनीति थाले । २०७२ मा नेपाल तरूण दल बझाङ— १ को क्षेत्रीय सभापति भएका सिंह कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्य समिति बझाङको सदस्यमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका-५ को वडाध्यक्षमा अभिषेक पराजित भएका थिए ।
वडाध्यक्षमा तेस्रो मत ल्याएका अभिषेकलाई कांग्रेसले स्वर्गीय पृथ्वी बहादुरको विरासत कायम राख्न चुनावी मैदानमा पठाएको छ । यता सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पनि बझाङ १ मा बेग्ला बेग्लै उम्मेदवार खडा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार उठाएको छ । एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए । भण्डारी अघिल्लो कार्यकालमा समेत एमाले बझाङको अध्यक्ष थिए । भण्डारी कानून व्यवसायी समेत हुन् ।
माओवादी केन्द्रबाट जनक बुढाले टिकट प्राप्त गरेका छन् । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य थिए। सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर क्याम्पस इकाई अध्यक्षबाट विद्यार्थी राजनीति सुरु गरेका बुढा क्रान्तिकारी अनेरास्ववियु कञ्चनपुर जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै २०५८ सालमा क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रीय सदस्य भएका थिए । २०५८ सालमा माओवादी केन्द्रको बझाङ जिल्ला कमिटी सदस्य भएका उनी पार्टीको बझाङ र बैतडीको जिल्ला सचिव पनि भए । बझाङ जिल्ला इन्चार्ज हुँदै अहिले प्रदेश सचिव रहेका बुढा २०७० सालमा माओवादीबाट संविधानसभा सदस्य पनि थिए ।
त्यस्तै एकीकृत समाजवादीले दिल बहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए । २०५४ सालमा एमालेबाट जिल्ला विकास समिति सभापति भएका सिंह २०७० सालमा एमाले जिल्ला अध्यक्ष थिए । हाल नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य छन् । यस्तै जनता समाजवादी पार्टीले बझाङ प्रदेशसभा १ मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेश निर्वाचनको लागि किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि खड्कालाई अघि सारेको हो । जनताले युवा उम्मेदवार खोजेकोले लामो समयदेखि पर्यटन व्यवसायमा लागेका खड्कालाई उम्मेदवार बनाइएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले बताए । खड्का पूर्व पत्रकार समेत हुन् ।