सेती अस्पतालमा सुई लगाउन गएकी महिलाको मृत्यु

धनगढी– सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक महिलाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्षिया सीता डगौराको मृत्यु भएको हो ।

मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार (१८ गते) रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् ।

डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् ।

अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।

बिरालो, कुकुर सहित जङ्गली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । विरलैमा यो समस्या देखिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेर बहादुर कमरको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ।

Loading...