बझाङ- बझाङको सेती नदीबाट एक किशोरीको उद्धार गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया सुनिता साकीको नदीबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार किशोरीको नदीमा बग्दै गर्दा स्थानीय युवाहरूको समूहले उद्धार गरेको छ । उनले हाम फालेको वा अन्य कारणले बगेको विषयमा नखुलेको प्रहरीले बताएको छ ।
तर, उनले जयपृथ्बी नगरपालिका–१० पानकोट पुल नजिकैबाट बुधवार सेती नदीमा हाम फालेको स्थानीयले बताएका छन् । उनको चैनपुर स्थित जयपृथ्वी अस्पतालमा उपचार हुँदैछ। घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ।