अत्तरिया- कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले कुनै दबाबमा नपरी काम गर्ने बताएका छन् ।
आज (बुधबार) कार्यालयमा आयोजना गरिएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा डिएसपी थापाले कुनै दबाबमा नपरी काम गर्ने र अत्तरिया क्षेत्रमा लागूऔषध मुद्दामा प्रहरी सक्रिय भएर लाग्ने बताएका हुन् । उनले यस अत्तरिया क्षेत्रमा हुन जुवातास लगायत अन्य यस्तै आपराधिक क्रियाकलापमा लागेकाहरूलाई त्यस्तो क्रियाकलापमा नलाग्न समेत भनेका छन् । त्यस्तो पाइएमा कसैलाई पनि नछोडिने बताएका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीको कार्यक्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न भरपुर प्रयास गर्ने समेत थापाले बताए ।
आफ्नो कार्यकालमा यो क्षेत्रका स्थानीयको साथ रहनेमा आफू विश्वस्त रहेको उनले बताए । परिचयात्मक कार्यक्रममा स्थानीयहरुले अत्तरिया क्षेत्रका समस्या डिएसपी सामु राखेका थिए । यो क्षेत्रमा लागूऔषध, वेश्यावृत्ति, जुवातास लगायतका समस्या रहेको स्थानीयको भनाई छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रमुखका रुपमा कार्यरत गणेश बहादुर बरालको सरुवा भएपछि दुई दिन अघि थापा कार्यालय प्रमुखको रुपमा उपस्थित भएका हुन् ।
बुधवार इप्रका क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सँग आयोजना गरिएको छलफल तथा परिचयात्मक कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।