तरकारी उत्पादनमा वृद्धि

हरिश चन्द/डडल्धुरा २१ चैत । जिल्लामा पछिल्लो समय तरकारी उत्पादन बढ्दै गएको छ । कृषकको संख्या तथा तरकारी खेती गर्ने क्षेत्र समेत बढे पछि उत्पादनमा समेत वृद्धि भएको हो । विगत पाँच वर्षको आँकडा हेर्दा डडेल्धुरामा तरकारी खेती गर्ने जमिन बढ्दो क्रममा छ भने उत्पादन पनि वर्षेनी बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्षको हाल सम्मको उत्पादनको रेकर्ड हेर्दा प्रत्येक वर्ष २ सय ५० मेट्रिक टन ताजा तरकारी खेती बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन देखि फागुन अन्त्य सम्म १८ हजार २ सय ३२ मेट्रिक टन ताजा तरकारी उत्पादन भएको छ ।

Navadurga sun
Godawari sandesh

उत्पादित तरकारी जिल्ला बाहिर निकासी भएको कृषि ज्ञान केन्द्रका डडेल्धुराका कार्यालय प्रमुख खेम राज पनेरुले जानकारी दिनु भयो । कुल १ करोड २१ लाख बराबरको ताजा तरकारी चालु आर्थिक वर्षको हाल सम्म जिल्ला बाहिर निकासी भएको छ ।

Dadeldhura hospital

कृषि ज्ञान केन्द्रका डडेल्धुराका प्रमुखले तरकारीमा डडेल्धुरा आत्मनिर्भर भएको बताउँछन् । ‘हामी तरकारीमा आत्मनिर्भर भइसकेका छौं,’ उनले भने, ‘विशेष गरेर पहाडी क्षेत्र भएकोले बर्खाको समय साउन, भदौ, असोज, कार्तिक सम्म तरकारी बाहिर जान्छ । अब चैत वैशाखको समयमा साग, घिरौला, लौका जस्ता तरकारी बाहिरबाट आउँछ । त्यही तरकारी फेरि जेठ लागे पछि यताबाट निर्यात हुन्छ ।’

जिल्लामा तरकारी आयात गर्नु पर्ने अवस्था खासै नरहेको उनी बताउँछन् । ताजा तरकारी जिल्ला बाहिर गएको ज्ञान केन्द्रको रेकर्डमा छ । कैलाली, कन्चनपुर, डोटी अछाम बाजुरा बैतडी बझाङ र दार्चुला लगायतको ठाउँमा तरकारी निकासी भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जिल्लामा तरकारी बाली तर्फ फूलगोभी, बन्दा, ब्रोकाउली, गोलभेडा, मुला, गाजर, सलगम, खोर्सानी, केराउ, सिमी, सिप्चना, बोडी, भिन्डी, भान्टा, प्याज, काँक्रा, फर्सी, जुकेनी, करेला, घिरौला, लौका, चिचिन्डो, तिरैया, कुभिन्डो, कुन्द्रु, स्कुस, साग, धनियाँ, पिँडालु, तरुल लगायतका उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जिल्लामा व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न किसान पनि बढ्दो क्रममा रहेको बताइएको छ । कृषक बढ्दै जाँदा तरकारी बाली उत्पादन गर्ने जमिन र तरकारीको उत्पादन पनि वर्षेनी बढ्दै गएको पाइएको हो । जिल्लामा तरकारी उत्पादन बढे सँगै जिल्लाबाट तरकारीका लागि बाहिरिने रकम समेत जिल्लामा रहने गरेको छ ।

Loading...