बैतडी- बैतडीको सिगासमा भीरबाट लडेर एक जना पुरुष घाइते भएका छन् । बैतडीको सिगास गाउँपालिका वडा नं ४ बुढाकोटका ५१ बर्षीय धनबीर सिंह साउँद भीरबाट लडेर घाइते भएका हुन् ।
सिगास गाउँपालिका २ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा मंगलबार दिउँसो ४ बजेतिर इराना भन्ने ठाउँमा साउँद लडेका हुन् । बाटोबाट एक सयमिटर तल खस्दा साउँदको कम्मर, घाँटी र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले बताए ।
घाइते साउँदलाई बुधबार बिहान चार बजेतिर उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।