कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि भएन पूरा

धनगढी- कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् ।

पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो । लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको छैन । अझै लम्की–खक्रौला सडकखण्डको २१ दशमलव सात किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

लम्की–खक्रौला सडकको अहिलेसम्मको प्रगति हेर्दा वित्तीयरूपमा ५४ प्रतिशत र भौतिकरूपमा ६० प्रतिशतमात्र पुगेको हुलाकी राजमार्ग निर्देशनालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायतले बताए । ‘पहिलो प्याकेजमात्र सम्पन्न भएको छ । दोस्रो र तेस्रो प्याकेज निर्माण जारी छ’, उनले भने, ‘काममा ढिलाइ भएको हो ।’

त्यस्तै, सत्ती–धनगढी खण्डको पहिलो खण्ड धनगढी क्याम्पसचोकबाट सात किलोमिटर र त्यसपछि दोस्रो खण्डको पाँच किलोमिटर सडकमात्र अहिलेसम्म कालोपत्र भएर सकिएको छ । अन्य दुई खण्ड कालोपत्रको काम सुरु भएको छैन । सत्ती–धनगढी खण्डको ३१ दशमलव ५० किलोमिटर कालोपत्र गर्न बाँकी छ । यो प्रगति वित्तीय तथा भौतिकरूपमा करिब ६८ प्रतिशत पुगेको सूचना अधिकारी कठायतको भनाइ छ ।

Dadeldhura hospital

‘यहाँ चारवटा प्याकेज हो, पहिलो प्याकेजको सात किलोमिटर कालोपत्र भइसक्यो’, उनले भने, ‘दोस्रो प्याकेज साढे पाँच किलोमिटर जति निर्माण भएको छ, अन्य निर्माण हुँदैछ ।’

लम्की–खक्रौला सडक तीन खण्ड र सत्ती–धनगढी सडक चार खण्डमा छुट्टाछुट्टै ठेक्का लागेको थियो । सत्ती–धनगढी खण्डको काम स्वच्छन्द जोशी जेभीले गरिरहेको छ । स्वच्छन्दका सञ्चालक गणेश जोशीका अनुसार सत्ती–धनगढी सडकखण्डको पहिलो खण्डको काम सकिएको हो ।

दोस्रो खण्डको पनि कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र वसन्तापूर्वको खण्ड सक्ने लक्ष्य छ । अन्य भजनीपूर्वको सडकको सतह तयार गर्ने काम भइरहेको छ । ‘अहिलेसम्म दुई प्याकेज सकियो, २० किलोमिटर तयारी छ । अब कालोपत्र गर्ने हो’, उनले भने, ‘तेस्रो खण्ड असार मसान्तसम्म सक्ने योजना छ ।’

लम्की–खक्रौला सडकको तीन खण्डमा भइरहेको काममध्ये पहिलो खण्ड सकिएको छ भने अन्य दुई खण्डको काम चालू अवस्थामा नै छ । तेस्रो खण्ड निर्माण कम्पनी रायमाझी गल्वा जगदम्वा जेभीकाअनुसार सडक निर्माण तीव्र गतिमा भइरहेको छ ।

आउँदो चैत १५ गतेदेखि कालोपत्र गर्न सुरु गर्ने र यो आर्थिक वर्षमा नौ किलोमिटर सडक कालोपत्र योजना रहेको छ । बाँकी साढे एक किलोमिटर सडक बाँकी रहने निर्माण कम्पनीका चन्द्र लम्सालले जानकारी दिए । ‘अब बेस लेन सुरु हुन्छ चैतबाट कालोपत्र सुरु गर्ने तयारी छ’, उनले भने, ‘यस वर्ष अस्नेहरीबाट बालुवाटारसम्म १५ किलोमिटर सक्ने योजना छ ।’

लम्की–खक्रौला खण्ड २९ दशमलव सात किलोमिटर र सत्ती–धनगढी खण्ड ४४ किलोमिटरको स्तरोन्नतिका लागि हुलाकी राजमार्ग निर्देशनालयले वि.सं २०७७ मा ३० महिनाको अवधिमा काम सक्नेगरी दुवै सडकको ठेक्का लगाएको थियो । यी सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकलाई धनगढी, टीकापुरलगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ । रासस

Loading...