धनगढी- कैलालीमा ‘छोरीलाई अंश र वंशमा समान अधिकार’ अभियान सुरु भएको छ । नेपालको संविधान, २०७२ ले छोरा र छोरीलाई समान व्यवहार र हकको व्यवस्था गरिएको भन्दै कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो ।
कैलालीको समाजमा छोरा र छोरीबिच विभेद कायमै रहेकाले अभियान सञ्चालन गरिएको अभियानकर्ताहरूको तर्क छ । धनगढी उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत पंकजा जोशीले श्रमिक महिला दिवसको अवसरमा कैलालीबाट सो अभियान सुरु भएको बताइन् ।

संविधानको धारा १८ समानताको हक, उपधारा ५ मा पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना सबै सन्तानको समान हकको व्यवस्था छ । त्यसै गरि धारा ३८ को उपधारा १ प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हकको व्यवस्था छ । तर, अहिलेसम्म त्यो व्यवस्था कार्यान्वयन भने नभएको जोशीले बताइन् ।
सो व्यवस्था कार्यन्वयनको लागि सम्बन्धित निकायलाई दबाब दिन धनगढी उपमहानगरपालिकाको बैठक कक्षमा बैठक बसी अभियान सञ्चालन गर्ने निणर्य गरेको हो । अभियानले कैलालीमा कार्यान्वयन गरेका अभिभावकलाई सम्मान समेत गर्ने उदेश्य राखेको छ ।
मुलुकी देवानी संहिताको दफा २०५ मा छोरीलाई अंसियार मानेको छ । सन्तान समान हुनका लागि यी हकहरूको प्रयोग अनिवार्य रहेको गोमा अर्चाय बताउँछिन् । छोरीलाई दयाले होइन सम्मानसाथ आफ्नो वंश स्विकार्न सके संसार सुन्दर हुनेछ ।