धनगढी- खप्तड सहित सुदूर पहाडका हिमाली भू-भागमा हिमपात सुरु भएको छ । खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए ।
उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन् । अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ । सुदूरपश्चिमका पहाडी जिलहरू बाजुरा, बझाङ लगायतका हिमाली भू-भागमा हिमपात सुरु भएको हो ।
बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू-भागहरूमा वर्षासँग हिमपात हुँदैछ । जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो । बुधवार राति देखि जिल्लामा वर्षासँग उच्च क्षेत्रमा हिउँ पर्न थालेको बाजुरा प्रहरीले बताएको छ । वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक समेत अवरुद्ध हुन थालेका छन् । सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ ।
बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या क्षेत्र, स्वामिकात्र्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिकाको कोल्टीको कुरु, पाण्डुसैन, खप्तड छेडेदह गाउँपालिकाको काँडा, रान, आटीचौर, बडीमालिकाको ढम्कने, गौमुल गाउँपालिकाको अम्लीस, पातेगर्जे, तल्दुगन, मल्गुदनमा हिमपात हुँदैछ । बडीमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिमपात भएको छ ।