धनगढी- सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट असुली हुने राजस्वमा लगातार गिरावट देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ यता कैलाली भन्सारले राजस्व असुलीको निर्धारित लक्ष्य भेटाउन सकेको छैन । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म कुनै महिनामा पनि राजस्वको लक्ष्य पूरा हुन सकेन ।


यो पाँच महिनामा ४ अर्ब ५८ करोड ३५ लाख २५ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा २ अर्ब ९६ करोड ७१ लाख ३० हजार रुपैयाँ संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिए । जुन लक्ष्यको ६२.७३ प्रतिशत मात्र हो । कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ ।


पेट्रोलियम पदार्थ, एलपिजी ग्याँस, ब्ल्याङ्केट, दालमोठ, टायल, मार्बललगायत वस्तुको आयातबाट तुलनात्मकरुपमा बढी राजस्व असुली हुने गरेको छ । चालु वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थबाट ४३ करोड ७५ लाख रुपैयाँ असुली भएको भन्सार कार्यालयले जनाएको छ । त्यस्तै एलपिजी ग्याँसबाट २८ करोड ५१ लाख, दालमोठ, पापड, भुजियाबाट साढे दुई करोड, ब्ल्याङ्केटबाट १ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सामानको आयात घटेकाले राजस्व असुलीमा पनि कमी आएको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए । भन्सार कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व असुली हुने पेट्रोलियम पदार्थको आयात दुई वर्षयता घटेको छ । खुला सीमानाका कारण भारतबाट हुने चोरीपैठारी नियन्त्रण गर्न नसक्दा पनि राजस्व असुली प्रभावित भइरहेको छ ।
गत आर्थिक वर्षमा भन्सार कार्यालयले लक्ष्यको ६७.४१ प्रतिशतमात्र राजस्व असुली गर्न सक्यो । गत वर्ष १२ अर्ब ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य लिएकोमा ८ अर्ब २९ करोड ७३ लाख राजस्व संकलन गरेको थियो । गत वर्ष राजस्व संकलन लक्ष्य भन्दा न्यून भएपछि चालु वर्षको लक्ष्य नै गत वर्ष भन्दा कम तोकिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा ९ अर्ब ५८ करोड २६ लाख (८१.०४) प्रतिशत संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ मा भने भन्सारले लक्ष्य भन्दा बढी १०७.५९ प्रतिशत राजस्व असुली गरेको थियो । उक्त वर्ष ८ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा भन्सारले ८ अर्ब ८४ करोड १४ लाख रुपैयाँ राजस्व असुली गरेको थियो ।
त्रिनगर नाकाबाट निर्यात न्यून मात्रामा हुने भएकाले निर्यातबाट असुली हुने राजस्व भने न्यून छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात भएका बस्तुबाट २ लाख ६ हजार राजस्व असुल गरेको छ । भन्सार कार्यालयका अनुसार यो नाकाबाट कत्था, टार्पेन तेल र पिना भारत निर्यात हुने गरेको छ ।





