महाकाली पुलको काम तीन महिना देखि बन्द

कञ्चनपुर- महाकाली पुल निर्माणको काम ३ महिना देखि बन्द छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम करिब ३ महिना देखि ठप्प छ ।

बजेट अभावका कारण दसैं अगाडि देखि बन्द भएको काम अझै सुरु हुन सकेको छैन । पुल आयोजनाको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनी सीएफईसी कुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । गत वर्ष र चालु आर्थिक वर्षको करिब २५ करोड भुक्तानी हुन बाँकी छ । निर्माण सामग्री खरिद देखि कामदारको पारिश्रमिक दिन समेत रकम अभाव भएपछि दसैं अगाडि देखि नै काम रोकिएको हो ।

Bhancha ghar0

चालु आर्थिक वर्षमा आएको १८ करोडले गत वर्षकै भुक्तानी गर्न नपुगेको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी देखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँचमार्गमध्ये दुई किलोमिटर कालोपत्रे गर्न बाँकी छ । निर्माण कम्पनीले यसै वर्ष भित्र निर्माण कार्य सक्ने लक्ष्य राखेको थियो । तर बजेट अभावका कारण काम ठप्प छ ।

तत्काल कम्तीमा २० करोड भुक्तानी गर्न सके मात्रै काम सुरु हुन सक्ने महाकाली पुल आयोजनाका प्रमुख सीडीई राम बहादुर गुरुङले बताए । भीमदत्त नगरपालिका-१२ र दोधारा-चाँदनी नगरपालिका-१ जोड्न महाकाली माथि आठ सय मिटर लम्बाइको चार लेन पुलको दुवै तर्फ २६/२६ सय मिटर लम्बाइ र ६/६ सय मिटर चौडाइका पोखरी ठूलो ढुंगाको प्रयोग गरेर निर्माण गर्नुपर्ने सुरुको डिजाइन थियो ।

निर्माण कम्पनीले ठूला ढुंगा नपाएपछि ढुंगा र कंक्रिटको गाइड बन्ड बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो । तर उक्त डिजाइन विभागबाट स्वीकृत हुन सकेको छैन । महाकाली नदीमा साढे ५ लाख क्युसेकसम्मको बहावले २ सय ५२ किलोसम्मको ढुंगा बगाउन नसक्ने एक अध्ययनले देखाएको छ ।

सोही अनुरूप ठूला ढुंगा प्रयोग गरेर गाइड बन्ड बनाउने डिजाइन तयार पारिएको हो । २०७४ भदौमा निर्माण सुरु भएको पुलको समयावधि ३ पटक म्याद थपेर चैत १५ मा सकिँदै छ । सुरुमा यसको निर्धारित बजेट ३ अर्ब २७ करोड थियो भने भेरिएसन गरेर ३ अर्ब ६६ करोड पुगेको छ ।

Loading...