धनगढी- सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिको टोलीले बिहीबार सेती प्रादेशिक अस्पतालको स्थलगत अनुगमन गरेको छ । समितिले अस्पतालको बस्तुगत स्थितीका सन्दर्भमा जानकारी लिनका लागि अनुगमन गरेको हो ।

अनुगमन टोलीले अस्पतालले प्रदान गर्ने सेवा, आवश्यक जनशक्ति, आवश्यक पर्ने भौतिक संरचना लगायतका विषयमा जानकारी लिएको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए । समितिले अस्पतालले प्रदान गर्दै आएका सेवाप्रबाहलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ । समितिले अस्पतालले धेरै कुरामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।
समितिका सदस्य धर्मराज पाठकले अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजरुपमा उपचार नपाउने गरेको गुनासो आउने गरेकोले गुनासो सम्बोधन हुनुपर्ने बताए । उनले अस्पतालको स्त्तरोन्नतीका लागि समितिले मुख्यमन्त्री कमल शाह र सामाजिक विकास मन्त्री झपट साउँदसँग बसेर छलफल गरिने बताए ।अस्पताल विकास समितिका अध्यक्ष शाहले समितिको अनुगमन टोलीलाई अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए ।
उनले पछिल्लो समयमा अस्पतालले प्रदान गर्दै आएका सेवा प्रभावकारी हुँदै गएको जानकारी गराएका थिए । उनले अस्पतालमा थुप्रै समस्या रहेकाले प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरे । अनुगमन टोलीमा प्रकाश बम, धर्मराज पाठक, हिरा सार्की, जानकी कुवँर, माया पन्त रहेका थिए ।