धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई पत्रकार महासंघ कैलाली शाखाले ध्यानाकर्षण पत्र बुझाएको छ ।


मंसिर १९ गते नगर प्रमुख हमालले आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रसारण भएको विषयमा दिएको अभिव्यक्तिको विषयमा पत्रकार महासंघ कैलाली शाखाले आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।



फेसबुक पेजमा मेयर हमालले समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई निगरानी गर्न भनिएको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै महासंघ कैलालीले विरोध जनाउँदै ध्यानाकणर् पत्र बुझाएको हो ।
पत्रकार र मिडिया हाउसका विरुद्ध आम नागरिकलाई भड्काउन मेयरले अभिव्यक्ति दिएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।
ध्यानाकर्षण पत्रमा नगर प्रमुख हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउस माथि आक्रमण भएमा, गालीगलौज वा धम्की आएमा त्यसको जवाफ स्वयं हमालले नै लिनुपर्ने उल्लेख छ ।
नगर प्रमुख हमालले भने आफूले कुनै पनि मिडियालाई आरोप लगाउन नखोजेको बताएका छन् । उनले भ्रमपूणर् सामाचार सम्प्रेषण गर्नेहरूबाट सजग हुनुपर्ने भन्दै आफ्ना कुरा फेसबुक पेजबाट सार्वजिनक गरेको बताएका छन् ।





