अत्तरिया- सुदूरपश्चिम प्रदेश भित्र एचआईभी संक्रमितको संख्या फैलिँदै गएको छ । यस्ता संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा रहेको पाइएको हो । एचआइभी संक्रमितकै कारण सुदूरपश्चिमका ९ जिल्लामा गरी तीन वर्षको अवधिमा २ सय २६ जनाको मृत्यु भइसकेको छ ।
नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ७२ महिला र १ सय ५४ पुरुषको मृत्यु भएको हो । आर्थिक वर्ष २०७९/०८० मा उपचारमा रहेका ६४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मृत्यु हुनेको संख्या ७९ रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा उपचारमा रहेका ८३ जना एचआईभी संक्रमितको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार २०७९/०८० मा सबै भन्दा बढी कैलालीमा मृत्यु भएको तथ्यांक छ । सेती प्रादेशिक अस्पतालमा नियमित औषधोपचारमा रहेका १८, मालाखेती अस्पतालमा ६ र टीकापुर अस्पतालमा ८ गरी ३२ जनाको मृत्यु भएको छ । ती मध्ये ११ महिला, २० पुरुष र एक यौनिक तथा लैंगिक अल्पसंख्यकको मृत्यु भएको छ । २०७८/०७९ मा मालाखेती अस्पतालमा उपचाररत संक्रमितको मृत्यु संख्या शून्य थियो ।
तर, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा भने सो वर्ष मृतक संख्या गत आर्थिक वर्षको भन्दा बढी थियो । सेतीमा २६ र टीकापुर अस्पतालमा १२ जना संक्रमितको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा डोटीमा १३ जना संक्रमितको मृत्यु भएको छ । बझाङमा ४, बाजुरामा २, बैतडीमा ३, दार्चुला, डडेलधुरा, कञ्चनपुरको महाकाली अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको छ ।
कैलालीपछि बढी संख्यामा प्रभावित देखिएको डोटीमा अघिल्लो आर्थिक वर्ष भन्दा २०७९/०८० मा मृतकको संख्या बढेको छ । २०७८/७९ मा ८ जना संक्रमितको मृत्यु भएको थियो । निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाका अनुसार गत आर्थिक वर्षमा प्रदेशका सरकारी स्वास्थ्य संस्थाबाट ७ हजार १ सय ३ जनामा परीक्षण गर्दा १ सय ७३ संक्रमित फेला परेका थिए भने विभिन्न संघसंस्थाले गरेका परीक्षणबाट ८१ नयाँ संक्रमित फेला परेका थिए ।
बाजुरामा भदौ महिनामा मात्रै ४ जना नयाँ संक्रमितको पहिचान भएको छ । हाल सुदूरपश्चिमका एआरटी केन्द्रमा औषधि सेवन गर्नेको संख्या ३ हजार ६ सय २६ रहेको छ । निर्देशनालयका अनुसार सबै भन्दा बढी औषधि सेवनकर्ता कैलालीमा छन् ।
सेती प्रादेशिक अस्पतालमा १ हजार १९, मालाखेती अस्पतालमा ३ सय ३७, टीकापुर अस्पतालमा ५ सय ६३, अछाममा १ सय ९१, बयालपाटामा २ सय ४, चौरमाडौंमा १ सय ३ र कमलबजारमा ९४ जना एआरटी सेवनकर्ता रहेको तथ्यांकमा उल्लेख छ ।
