

डोटी- डोटीको के आई सिंह गाउँपालिकाका युवा समूहले देउसी भैलो खेलेको रकमले स्थानीय एक विपन्न परिवारको घर निर्माण गरिदिएका छन् । उक्त गाउँपालिका-५ रानागाउँ सरस्वती टोलकी ५० वर्षीया खिमा टमट्टाको घर गत वर्ष असोज महिनामा परेको अविरल बर्षाका कारण भत्किएको थियो ।



घर भत्किएपछि बिचल्लीमा परेकी खिमाको घर देउसी भैलोबाट सङ्कलित रकमसँगै श्रमदान गरी आफूहरूले निर्माण गरिदिएको युवा यज्ञ पार्कीले बताए ।


पार्कीले भने ‘हामीले घर निर्माण गर्न ५ दिन श्रमदान पनि गर्यौँ, देउसी पनि खेल्यौँ, घरको छाना छाउन अपुग भएको रकम वडा कार्यालयले सहयोग पनि गरेपछि घर निर्माण भएको हो।’
उनका अनुसार वडाले छाना छाउन ९ हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेको हो । नयाँ घर बनेपछि खिमा खुसी देखिनुभएको छ । ‘आफ्नो घरमा बस्न पाउने भएको छु, खुशी लागेको छ ।’