इजरायलमा छोरा गुमेपछि धनलालको पीडा : ‘घर त टालियो मन कसरी टालौं?’

बझाङ- ‘घर त टालियो मन कसरी टालौं,’ इजरायल हमलामा परि छोरा गुमाएका जयपृथ्वी नगरपालिका–११ भोपुरका ६७ वर्षीया धनलाल आउजी सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छन्। १४ दिनदेखि उनी एकोहोरो ‘छोराको मुख हेर्न पाए हुन्थ्यो’ भनेर कराई नै रहेका छन्।

धनलालको घर गएको असोज १६ गतेको भूकम्पले भत्कायो। त्रिपालमुनि बास भयो। घर भत्किएको पीडा छँदैथियो, त्यसमाथि धनलालको परिवारमा अर्को बज्रपात आइलाग्यो। इजरायलमा पढ्न गएको माइलो छोरा गणेश नेपाली कहिल्यै नफर्कनेगरी उतै ढलेको खबर सुन्नुपर्‍यो।

Navadurga sun

भूकम्पले चिराचिरा पारेर भत्किएको घरलाई त नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले टालटुल र टिन ठोकेर पुनर्निर्माण गरी दिएका छन्। तर छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्नेरु

‘घर त सहयोगी मनहरूले छाइदिए। बास बस्नलाई त भयो। तर छोराको शव आएको छैन’, धनलालका रुँदा रुदै आँखाबाट आँसु आउन छाडि सकेका छन्। पुरै गला भासिएको छ। बोल्न खोज्दा ओठ पुरै काम्छन्। माइलो छोरा २६ वर्षीय गणेश नेपालीको आइतबार इजरायल हमलामा परि मृत्यु भएको खबर पाएपछि उनी पुरै भाव विह्वल छन्।

कोही सान्त्वना दिन आएकासँग सम्हालिएर बोल्न खोजे पनि सक्दैनन्,ढली हाल्छन्। अनि, छोरालाई सम्झँदै बिस्तारै भन्छन, ‘घर धेरै चर्केको भए भित्र नबस्नुहोला, आफ्नो परानीको ख्याल राख्नु होला।’

धनलालले गणेशलाई माया गरेर हुर्काएका थिए। ‘अघिल्लो दिन साँझ तिर फोन गरेर काम निकै छ भन्दै थियो’, गणेशका दाजु विकासले भने, ‘घरपरिवारमा सबैको रुवाबासी छ। गाउँका दाजुभाइहरू सम्झाउने प्रयास गरिरहनुभएको छ, तर घरमा कोही सम्हालिइरहनुभएको छैन। सबैको घरमा दशैँको रमाइलो छ। सबै दशैँ मनाउन घर फर्किसके हामी भाइको लास कुरेर बसेका छौ।’

यति बेला जयपृथ्वी नगरपालिका–११ भोपुर शोकमा डुबेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर क्याम्पसमा चार वर्षे एग्रीकल्चर बीएससीएजीको कोर्ष पुरा गरेर इजरायलमा कमाई गर्दै इन्टर्नका लागि क्याम्पसले नै गणेशलाई लगेको थियो।

उनी भदौ २५ गते इजरायलका लागि उडेका थिए। विकासले भने, ‘शुक्रबार देखि भाइसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन। आइतबार मृत्यु हुनेको सूचीमा भाइको नाम पनि सुन्दा सपना जस्तो लागेको छ। मेरो भाइ पढाइमा साह्रै अब्बल थियो, जहिले सफल नै सफल हुने गरेको थियो।’

विकास पनि जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारी हुन्। भाइ गणेशको पीडाले बोल्दाबोल्दै कतिपय कुरा बिर्सिछन्। एकातिर गणेशको मृत्युको खबरले विक्षिप्त बनाइरहेका बेला अर्कोतिर शव भए पनि मन शान्त हुन्थ्यो कि भन्ने आशा बोकेका घरपरिवार आज सम्म शव स्वदेश नआउँदा थप पीडामा छन्।

 

ADD Khali jpg
Loading...