दसैँका लागि साइपालका भेडाच्याङ्ग्रा पोखरा निर्यात

बझाङ- दसैँ तिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ ।

यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।

कास्की पोखरा, पाल्पा तथा स्याङ्जालगायत जिल्लामा उच्च लेकाली भेगमा पाइने भेडा तथा च्याङ्ग्राको माग बर्सेनि बढेपछि यस क्षेत्रका व्यापारीले ट्रकमा नै लोड गरेर पोखरा लिने गरेका छन् ।

साइपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी प्रतिट्रकमा ६० वटा भेडाका हिसाबले २२ वटा ट्रकमा एक हजार चार सय वटा भेडा पोखरा निर्यात भएको बताए ।

Dadeldhura hospital

उनका अनुसार प्रतिभेडा ३५ देखि ५० हजार रुपियाँसम्म बिक्री हुने हुँदा स्थानीय व्यापारीलाई मनग्गे आम्दानी हुन्छ । आम्दानी बढेसँगै यसतर्फ भेडा व्यवसायीको आकर्षण बढेको समेत उनले बताए । उनको भनाइमा सरदरमा हिसाब गर्दा झन्डै चार करोडभन्दा बढी मूल्य बराबरका भेडा यहाँबाट निर्यात गरिएको छ ।

यहाँका स्थानीय मनग्गे आम्दानी हुने भएपछि भेडा व्यवसायमा आकर्षित देखिएका छन् । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष तथा भेडा व्यवसायी राजेन्द्र धामी पनि दुई ट्रक भेडा लिएर पोखरा पुगेका छन् । उनले भने, “कामले कुनै पनि व्यक्ति सानो ठुलो हुँदैन । राजनीति गरेकाले केही पनि गर्नुहुन्न भन्ने धारणा ममा छैन ।”

पोखराका बजारमा साइपालका भेडाको अत्यधिक माग रहेकाले यस क्षेत्रका व्यापारीको प्रमुख गन्तव्यका रूपमा समेत पोखरा बन्दै आएको उनले स्पष्ट पारे । विगतका वर्षमा बझाङबाट पोखरामा भेडा लिएर व्यापार गर्दै आउनुभएका जसवीर बोहराले व्यापार अलि खर्चिलो भए पनि दुःख गरे अनुसारको आम्दानी हुने गरेको बताए ।

उनले बझाङको उच्च लेकाली भेगमा चरेको भेडाको मासुको माग दिन प्रतिदिन माग बढी रहेकाले बर्सेनि आफू पोखरा पुगेर व्यापार गर्दै आएको उनले बताए ।

खाद्यका हिसाबले उच्च जोखिमका रूपमा रहेको साइपालमा खाद्यान्नलगायतका अति आवश्यक वस्तुको ढुवानीमा भेडालाई प्रयोग गर्ने चलन छ । सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दुरीमा रहेको साइपालमा सडक तथा गाडी पुगेको छैन भने सामान तथा खाद्य दुवानीका लागि भेडा र खच्चर प्रयोग गरिन्छ ।

Loading...