


अछाम- सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा रहेको बयालपाटा अस्पतालमा एकै दिन ५ जनाको सफलशल्यक्रिया भएको छ। बाजुरा, डोटी र अछामका विभिन्न ठाँउबाट थप उपचारका लागि रेफर भई आएका उनीहरुको बयालपाटा अस्पतालमा सफल शल्यक्रिया भएको हो।


‘५ जनाकै हातको हड्डी भाँचिएपछि उनिहरुको अप्रेसन गरेर रड राख्नु पर्ने थियो’ उपचारमा संलग्न टिमको नेृतत्व गरिरहेका डा विज्ञान लामिछानेले भने, ‘हामीले पालै पालो अप्रेसन गर्न सफल भयौँ।’


‘अप्रेसन गर्नको लागि हामीसँग २ वटा सेट मात्र छ’ डा लामिछानेले भने, ‘तर पालै पालो गरेर भएपनि हामीले उनीहरुको सफल अप्रेसन गर्यौं।’ श्रोतसाधन अभावकाबीच एकैदिन ५ जनाको अप्रेसन हुनु डा लामिछाने आफैले पनि उपलब्धी मानेका छन्।’
‘दुर्गम ठाँउमा हरेक दिन कोही न कोही जटिल खालको बिरामी अस्पताल आउँछन् हामीले अप्रेसन गर्नुपर्ने नै हुन्छ तर एकैदिन ५ जनाको अप्रेसन गर्नु आफैमा पनि चुनौतिपूर्ण थियो’ उनले भने।
५ जनामध्ये एक जना ११ वर्षिक बालक बाजुराको बिकट ठाँउबाट २ दिन लगाएर बयालपाटा अस्पतालमा पुगेका थिए। उनको लडेर माथिल्लो पाखुराको हड्डी भाँचिएको थियो।

उनको पनि अप्रेसन गरेर सो ठाँउमा रड राख्नुपर्ने थियो। डा लामिछानेको टोलीमा एनेस्थेशिया महेन्द्र कुँवर, शिवशंकर शर्मा, कुल धामी, पवन रेखा जोशी, राजेश्वरी कुमाल, दिपा बम, लक्ष्मी बिक समेत संलग्न थिए।
पाँचै जनाको एकैदिन सफल अप्रेसन पश्चात उनीहरुलाई घर पठाइएको डा लामिछानेले बताए। ‘बिगत ८ वर्षदेखि मन्दिप दाईले जटिल खालका हार्डजोर्नीका सफल अप्रेसन गरिसक्नु भएको छ’ डा लामिछानेले भने, ‘त्यही बिश्वासका साथ बिरामीहरु बयालपाटा आउछन् र निको भएपश्चात खुसी भएर घर फर्किन्छन्।’
‘यदि उनीहरुको उपचार बयालपाटामा हुननसकेको भए धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता हुन्थ्यो’ डा लामिछानेले भने, ‘त्यसो हुदाँ आउन जान र उपचार गर्न कम्तिमा पनि एक जनाले एक लाख बढी खर्च गर्नुपर्ने हुन्थ्यो।
न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा रहेको बयालापाटा अस्पतालमा सबै प्रकारका सेवा निःशुल्क प्रदान भईरहेका छन्।
पछिल्लो ६ महिनायता अछामसँगै बाजुरा, डोटी, दैलेख, कालिकोट, मुगु, डडेलधुरा लगाएत जिल्लाबाट आएका बिरामीहरुले बयालपाटा अस्पताल पुगेर शल्यक्रिया सेवा लिएका छन्।
बिगत १५ वर्षदेखि संस्थाले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर दुर्गम क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।
बिगतका केही वर्ष विदेशी दातृ निकायको सहयोग भए पनि पछिल्लो सयम उक्त सहयोग कटौती हुँदा भने अस्पतालमा आर्थिक चुनौती थपिएको छ। अस्पतालको आर्थिक दायीत्वसहित अपनत्व सुदूरपश्चिम प्रदेश सरकारले लिने गरी काम भइरहेको भएपनि निष्कर्षमा भने अझै पुगेको छैन।





