

प्रकाश बहादुर बोहरा/अत्तरिया, १९ भदौ– सुदूरपश्चिमेलीहरूको महान पर्व गौराका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा नगरपालिकाले भदौ २१ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।


बेदकोट नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरु बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्वपूणर् पर्व हो ।


गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ ।

यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् ।
उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ ।
त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ ।
