

डडेल्धुरा- डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । परशुराम नगरपालिका-७, पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट मृत्यु भएको हो ।



पिपलकोटकै सिद्धनाथ माविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला लागेको थियो । पानी परेर बाटोघाटो समस्याका कारण समयमा जोगबुडा अस्पतालसमेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए ।


बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो । उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन् । बर्खाका कारण पहिरोले सडक अवरुद्ध भएकाले मलासको पूरै गाउँ सडक सञ्जालबाट अलग्गिएको छ ।
केही दिनअघि परशुराम नगरपालिका-८, गुप्तीगडामा हैजाका कारण १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । झण्डै चार वर्षअघि पनि वडा नम्बर-८ कै सानखोला र धादलीफाँटामा हैजाको प्रकोप देखिएको थियो ।





