

काठमाडौं- देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । अहिले बिहान घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिए ।



हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो । काठमाण्डौ उपत्यकासहित एकरदुई ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो।


दिउँसो पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरीसहित पानी पर्ने मौसमविद् लामिछानेले बताए । विशेषगरी आज र भोलिपहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ ।
तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ । मौसमविद् रोजर लामिछानेका अनुसार नेपालमा मोखा नामक चक्रवातको असर परेको छैन ।