कञ्चनपुर- श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरबिदामा आएका तपेन्द्र कञ्चनपुरमा अस्ताएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए । मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका-१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए ।
उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन् । श्रीमतीसँग गरेको त्यो बाचा अब कहिले पूरा नगर्ने गरि उनी बिलाए । यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधीकाका आँसु थामिरहेका छैनन् । नेपालमा श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ ।
हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका-५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो । बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर-५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ । ट्याक्टर र चालक कृष्णपुर-८ का ४२ वर्षीय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । राधीका बोहरा धनगढी र कञ्चनपुरमा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेकि थिइन् । उनी विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेकि छन् ।