महेन्द्रनगर- महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल भोलि देखि पुनः सञ्चालनमा आउने भएको छ । पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) गर्नुपर्ने भन्दै गत चैत १० गतेदेखी बन्द गरिएको उक्त पुल भोलिदेखी सञ्चालनमा आउने भएको हो ।
पुलको एकातर्फको दुई लेन खोलेर आवागमन सहज गरिने बताईएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयका अनुसार भोलि दिउसोबाट पुलको एकातर्फको दुई लेन खुल्ला गरिने छ । उनले पुलको वाल निर्माणको काम सम्पन्न भएकाले एकतर्फको दुई लेन खोलेर आवातजावतमा सहज बनाउने बताए ।
पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ । दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम झण्डै पूरा भएको छ । पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको छ । पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पाण्डेयले बताए ।
अहिले पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ । बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ बताईएको छ ।
पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ । पुल बन्द हुँदा स्थानियहरुलाई आवत जावत गर्न समस्या भएको थियो । स्थानियहरुले पुलको सट्टा बैकल्पीक बाटो प्रयोग गर्दै आएका थिए । पुलको एकतर्फको लेन खोलिएसँगै पुलबाट आवत जावत गर्न अब स्थानियलाई सहज हुने भएको छ ।
