

कञ्चनपुर– कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका-८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ । चन्दको शव २२ घन्टापछि आज बिहान फेला परेको हो ।



शव आक्रमण गरेको केहि पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए । उनको शवलाई अहिले अस्पताल लग्ने तयारी भइरहेको डाँगीले बताए । शुक्रवार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो । गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए ।


तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो । सँगै गएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव-डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी खप्टिनाला क्षेत्र पुगेका थिए । खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिइसकेको छ ।
शनिबार बिहान डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिईएको हो । बाघलाई नियन्त्रणमा लिन र बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली रातीको करिब ९ बजे खप्टिनालामा छिरेका थिए ।