


कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल एसएसबीले चार नेपाली युवकमाथि निर्घात कुटपिट गरेको छ । भारतीय एसएसबीले कञ्चनपुरका चार नेपाली युवकमाथि कुटपिट भएको उनीहरूले बताएका छन् । आइतबार राति उत्तराखण्डस्थित वनबासा पुलवारि रहेका एसएसबीले आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरूमाथी अमानवीय ढंगबाट कुटपिट गरेका हुन् ।



भीमदत्त नगरपालिका-१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त-५ का रतन ठगुराठी र गोविन्दप्रसाद जैसी (डब्लु)माथी कुटपिट गरेका हुन।एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन वनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए । उनले भारतबाट नेपाल आफन्त आउन लागेकाले त्यहाँ जाँदै गर्दा कुटेको बताए । एसएसबी क्याम्पभन्दा ३०-४० मिटर वर नै रोकेर ब्यारेल बन्द भएपछि जान पाइँदैन भनेर रोकेको उनले बताए ।


जाने नै भए उता साबलाई सोधेर आऊ भन्दा सोध्न जाँदा लाठी र पैनाले कुटपिट गरेको उनले बताए । कार्कीले आफूसँगै रहेका अन्य तीन नेपालीलाई पनि एसएसबीले कुटपिट गरेको, तर उनीहरूलाई आफूले नचिनेको बताए । छिमेकी मुलुकका सीमा सुरक्षा बलबाट नेपाली नागरिकमाथि निर्घात कुटपिट हुनु मानव अधिकारको समेत उल्लंघन भएको स्थानीय युवाले भर्त्सना गरेका छन् ।
स्थानीय युवा भूपेन्द्रसिंह क्षेत्रीले एसएसबीबाट विनाकारण नेपाली नागरिकमाथि मरणासन्न हुने गरी कुटपिट कार्य निन्दनीय भएको बताए । कुटपिट गर्नेमाथि कारबाही गर्नुपर्ने उनले माग गरेका छन । यता कार्यालयका सुरक्षा निकायहरुले घटनालगत्तै एसएसबीसँग जानकारी लिएको र एसएसबीबाट अबउप्रान्त यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता आएको बताएका छन् । प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकाश डाँगीले यस विषयमा थप बुझ्ने र घटनाका सम्बन्धमा दुवै पक्ष र सरोकारवालासँग बुझेर अघि बढ्ने बताए ।





