

धनगढी- धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने फुलबारीका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१८ बस्ने १९ वर्षीय बिराज बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक छन् ।


यस्तै सन्तोष दवाडी, जनक बोहरा, आर्यन थापा, अभि बिक, सृर्जन कोली, सुरज परियार र कृष्ण सिके रहेका छन् । पक्राउ परेका उनीहरु १२ जनामाथी थप अनुसन्धान भइरहेको जानकारी दिए ।
पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साउँदले बताए । आइतबार एउटा युवाहरुको समूहले परीक्षा दिएर घर फर्किरहेका बेला फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट गरेको थियो ।





