

कञ्चनपुर- हरेक वर्ष फागुपूर्णिमादेखि लाग्ने पूर्णागिरि मेला सुरु भएको छ । मेला सुरुवातसँगै सीमान्त बजार ब्रम्हदेवमा चहलपहल सुरु भएको छ । सामान्यतः फागुपूर्णिमाकै दिन मेला सुरु हुने भए पनि भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले बिहीबार औपचारिक रूपमा मेलाको शुभारम्भ गरे । उनले मेला शुभारम्भसँगै महाकाली नदीमा र्याप्टिङसमेत गरे ।


पूर्णिमाअघिदेखि नै महेन्द्रनगर र ब्रम्हदेवमा दर्शनार्थीको चहलपहल बढ्न थालेको थियो । औपचारिक रूपमा मेलाको उद्घाटन भइसकेपछि अब भीडभाड बढ्ने व्यवसायीहरू बताउँछन् । ‘भारतमा बिहीबारदेखि मेलाको शुभारम्भ भएको छ, अब विस्तारै भीडभाड बढ्छ,’ ब्रम्हदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘फाटफुट रूपमा दर्शनार्थी आउन थालेका छन् ।’



भारत उत्तराखण्डको चम्पावतअन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ । ठीक वारि नेपालतर्फ खल्ला, ब्रम्हदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ । पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । किंवदन्तीअनुसार सिद्धबाबा पूर्णागिरिका भक्त थिए ।
उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्ष पूरा हुने वरदान दिएका कारण यो परम्परा चलेको विश्वास छ । ‘यो मेला मात्रै होइन धार्मिक सम्बन्धको एउटा उदाहरण पनि हो,’ ब्रम्हदेवका स्थानीय भवानीदत्त जोशीले भने, ‘यसले दुई देशका नागरिकको सम्बन्ध र संस्कृतिलाई दर्साउँछ ।’ उनका अनुसार पूर्णागिरि मेलामा आउने अधिकांश दर्शनार्थी भारतीय हुन्छन् ।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । नेपालबाट पनि कञ्चनपुरसँगै कैलाली, बर्दिया, बाँकेलगायतका क्षेत्रबाट ठुलो संख्यामा दर्शनार्थी जाने गरेका छन् । पूर्णागिरि मेला अवधिमा ब्रम्हदेव र महेन्द्रनगर बजारमा ठूलो भीड लाग्ने गरेको छ ।
कोरोना संक्रमणपछि सुस्ताएको बजार व्यवसायले पनि यही अवधिमा गति लिने व्यवसायीहरूको अपेक्षा छ । ‘अरू बेला त सुनसान नै हुन्छ, मेलाकै बेला हो, दुईरचार हजारको कारोबार हुने,’ ब्रम्हदेवका व्यवसायी नवराज जोशीले भने, ‘यही दुईरचार महिनाको व्यापारले वर्षभरि टिक्नुपर्छ ।’ हालका वर्षमा मेलाका अवधिमा पनि व्यापार व्यवसाय सुस्ताउँदै स्थानीय व्यापारीको भनाई छ ।