दार्चुला- चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा पुँजीगत बजेट न्यून खर्च भएको छ । कुल पुँजीगत बजेटको १७ प्रतिशत खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु वर्षको ६ महिनासम्म खर्चको बजेटमध्ये आधा जति पुसमा मात्र भुक्तानी भएको छ ।
जिल्लामा चालु आर्थिक वर्षमा ८२ करोड ४१ लाख ९२ हजार पुँजीगत बजेट उपलब्ध गराएको छ । पुस मसान्तसम्मको अवधिमा १४ करोड २६ लाख ३ हजार बजेट खर्च भएको निमित्त कोष नियन्त्रक जगन्नाथ भट्टले बताए । उनले पुसमा मात्रै ८ करोड १ लाख ४७ हजार खर्च भएको जनाए ।

उनका अनुसार महाकाली करिडोर सडक योजनाले सबैभन्दा बढी पुँजीगत बजेट खर्च गरेको छ । पुस मसान्तसम्म आयोजनाले १० करोड ८६ लाख ३७ हजार खर्च भएको कोलेनिकाको तथ्यांक छ । महाकाली नदी नियन्त्रण आयोजनाले ६ महिनाको अवधिमा ७४ लाख ८३ हजार मात्रै खर्च गरेको छ । जिल्ला प्रशासन कार्यालयले ६१ लाख २१ हजार पुँजीगत बजेट खर्च गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माणमा बजेट खर्च भएको हो । अपिनम्पा संरक्षण क्षेत्र कार्यालयले ३५ लाख १४ हजार तथा सशस्त्र प्रहरी ४४ नम्बर गणले ५ लाख ९८ हजार पुँजीगत बजेट खर्च गरेका छन् ।
दार्चुलाका स्थानीय तहहरूमध्ये हालसम्म मार्मा गाउँपालिकाका लागि मात्रै पुँजीगत बजेट निकासा भएको निमित्त कोष नियन्त्रक जगन्नाथ भट्टले बताए । चालु आर्थिक वर्षमा मार्मामा २ करोड ९० लाख ५३ हजार पुँजीगत बजेट उपलब्ध भएकामा पुस महिनासम्म १ करोड २५ लाख ५९ हजार खर्च भइसकेको तथ्यांक छ ।