अत्तरिया– कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । धार्मिक आस्थाका रुपमा कैलालीको गोदावरी धामलाई पवित्रस्थल मानिदै आएको हो ।
गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको थियो । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्षले जानकारी दिए ।

बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्षको भनाइ छ ।
नेपालको सुदूरपश्चिमलगायत, कणर्ाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चारवेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ । दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम भइरहेको छ ।
मेलाकै अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, भजनकीर्तन, प्रवचन आदि भइरहेको आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम तथा शुभकार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गरेको पाइन्छ ।
धाममा कुम्भबाटिका, स्नान कुण्डलगायत संरचना निर्माण गरिएका छन् । मेलाको लागि गोदावरीमा स्थानीय बजार लागेका छन्। यस समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्न सकिने छ । धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा धर्मशाला, शौचालय, नदी वारपार गर्नका लागि पुललगायत विभिन्न संरचना निर्माण गर्न एकदमै आवश्यक रहेको गोदावरी धाम समितिले जनाएको छ । धामको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले बृहत गोदावरी धाम विकास समिति गठन गरेर आफ्नो मातहतमा लिई संरक्षण गर्न जरुरी रहेको धाम विकास समितिका अध्यक्ष बताउँछन् ।