सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक स्थगित, आन्तरिक छलफलमा माधव समुह





अत्तरिया, ११ जेठ– एमाले सुदूरपश्चिम संसदीय दलको बैठक स्थगित भएको छ । मंगलबार विहान बोलाईको बैठक दिनभर आन्तरिक छलफलमा सांसदहरु व्यस्त रहे ।


सांसदहरु बीच समन्वय हुन नसक्दा बैठक बस्न नसकेको बताईएको छ । ‘बैठक ढाकीएको थियो । आ–आफ्नो समयमा सांसदहरु आए’, नेपाल पक्षका सांसद अमरबहादुर साउँदले भने । मंगलबार विहान ८ बजेका लागि बैठक बोलाए पनि सांसदहरु साँझ ५ बजे सम्म संसदीय दलको कार्यालयमा पुगि नै रहेका थिए । माधम समुह अझै पनि आन्तरिक छलफलमा जुटेको छ ।


बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइएको सांसद साउँदले जानकारी दिए । उनले बैठकमा एमालेका सबै सदस्यहरूलाई खबर गरिएको बताए ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ । भीम रावल निकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन् ।
अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । २५ जनामा नेपाल पक्षका सभामुख सहित १९ र ओली पक्षमा ६ जना सांसद रहेका छन् ।



