कञ्चनपुर- बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २८ वर्षीय वीरेन्द्र पार्की ३ वर्षदेखि अरुको सहारमा छन् । भारतको मुम्बईस्थित पनवेलमा घर रंगरोगनका क्रममा लडेर घाइते भएका उनको स्वास्थ्यमा अझै सुधार आएको छैन । त्यसयता कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्र बस्तीमा भाडाको जमिनमा छाप्रो बनाएर बसिरहेका छन् ।
‘रंग लगाउँदालगाउँदै लडेर बेहोस भएँ,’ पार्कीले घटना स्मरण गरे, ‘ ६ दिनपछि होस खुलेको थियो । बाँच्न त बाँचियो तर हातगोडा नचल्ने भयो ।’ शल्यक्रिया गरेपछि घाँटीमा केही सुधार भएको उनले बताए । घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
घरबाट आमा र मुम्बईमै रोजगारी गरिरहेका दाइ अस्पताल पुगे । ६ दिनसम्म होस नआएपछि आमा र दाइ निराश थिए । उनले सुनाए, ‘तर होस खुलेको केही दिनपछि घर फर्कियौं ।’ आर्थिक अभावका कारण उनलाई घर ल्याइएको थियो । केही दिन बैतडीको दोगडाकेदार घरमै राखियो । त्यसपछि कृष्णपुरको पवित्रा बस्तीमा ल्याइएको हो । उनको गत वर्ष कोहलपुर मेडिकल कलेजमा घाँटीको शल्यक्रिया गरियो ।
शल्यक्रियामा निड्स नेपाल नामक गैरसरकारी संस्थाले आर्थिक सहयोग गर्यो । शल्यक्रियामा करिब अढाई लाख लागेको उनले बताए । ‘अब घाँटीमा राखिएको रड निकाल्नुपर्नेछ तर कसरी निकाल्नु रु,’ उनले भने, ‘आमाको वृद्धभत्ताले यहाँ बस्न र खान समस्या छ ।’ उनको हेरचाहका लागि आमा साथमै छन् ।
