कञ्चनपुरको कृष्णपुर-२ मा रहेको शिखरदीप सहकारीको ७ औँ वार्षिक साधारण सभा सम्पन्न
८ करोड ८५ लाख बढीको वित्तिय कारोवार, ४२ लाख १२ हजार मुनाफा


कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीमा केन्द्रीय कार्यालय रहेको शिखरदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय सुदुरपश्चिमका प्रशिक्षक देवराज पन्तको प्रमुख अतिथी रहेका थिए । शनिवार बंक स्थित चुरे लालझाडी कृषि सहकारी संस्थाको हलमा साधारण सभा सम्पन्न भएको हो ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवराज पन्तले सहकारीहरु ऐन, नीति, नियममा चल्नुपर्ने बताए । कार्यालयमा ३ सय ६६ सहकारी आवद्ध रहेको बताउँदै पन्तले ६० वटा सहकारी निष्क्रिय अवस्थामा रहेको बताए ।
उनले सदस्यहरु कुनै एक सहकारी संस्थामा मात्रै जोडिएर आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिए । सहकारीलाई आवश्यक साथ,सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई थियो ।

त्यस्तै विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले छोटो समयमा शिखरदिप सहकारीले उल्लेख्य प्रगति गरी छुट्टै पहिचान बनाएको बताउँदै आगामी दिनमा संस्थाको थप प्रगतिको कामना गरे ।

उनले अहिले सहकारीहरु च्याउ उम्रिएजस्तै गरी रहेको भन्दै सोच, विचार गरेर मात्रै सहकारीमा जोडिनुपर्ने बताए । सहकारीहरुले वित्तिय साक्षरतामा जोडि दिनुपर्ने समेत उनले बताए । सहकारी संस्थाहरुको काम बचत संकलन गर्नु मात्रै नभई समाज निर्माणमा जोड दिएर शैक्षिक, आर्थिक, सामाजिक लगायतबाट पछि परेका व्यक्तिहरुलाई साथ दिनुपर्ने बताए ।
सभाले गत आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड ८५ लाख ६२ हजार ९ सय ३१ बराबरको वित्तिय कारोवार गरेको छ । शेयर पूँजी ७२ लाख ५७ हजार १ सय रुपैया रहेको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ४२ लाख १२ हजार १ सय ५२ मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा शेयर पूँजी ८५ लाख पुर्याउने लक्ष्य संस्थाको रहेको छ । अघिल्लो वर्ष संस्थाको शेयर पूँजी ६७ लाख २० हजार रहेको थियो । संस्थामा ९ सय जना शेयर सदस्य रहेका छन् ।
संस्थाले गत आर्थिक वर्षमा ६ करोड ६५ लाख ९ हजार ४ सय ५ निक्षेप संकलन गरेको छ । संस्थाको कारोबार विस्तारसंगै बचत संकलनमा बृद्धि गरी चालु आर्थिक वर्षमा कुल निक्षेप ८ करोड पुर्याइने लक्ष्य लिइएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर संकलन, बचत संकलन तथा ऋण लगानी कारोबारमा बृद्धि गरी १० करोड पुर्याउने लक्ष्य लिएको अध्यक्ष सुरेन्द्र बहादुर चन्दले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ७ करोड ६२ लाख ९४ हजार ४ सय ५९ कर्जा लगानी रहेको संस्थामा यस चालु आर्थिक वर्षमा ८ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । संस्थाका अध्यक्ष चन्दले चालु आर्थिक वर्षमा कुल कारोबार विस्तार गरी मुनाफा आर्जनमा समेत उल्लेखनीय बढोत्तरी ल्याउने र शेयर सदस्यहरुलाई उच्च प्रतिफल दिने लक्ष्य संस्थाले लिएको बताए ।
हाल संस्थाले कार्यालयबाट शेयर सदस्यहरुलाई रेमिटान्स र आई.एम.ई पेबाट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको अध्यक्ष चन्दले बताए साथै निकट भविष्यमा अन्य रेमिटान्स सेवा प्रदायक कम्पनीहरुसंग सहकार्य गर्दै थप रेमिटान्स सेवा उपलब्ध गराइने योजना रहेको बताए । चन्दले १२ बुँदामा चालु आर्थिक वर्षका लागि कार्यक्रम तथा नीतिहरु प्रस्तुत गरेका थिए ।
संस्थाका प्रवन्धक दिनेश महराले स्वागत मन्तव्यबाट दिनु भएको कार्यक्रमको सञ्चालन केपी कलौनीले गरेका थिए ।
विभिन्न विधाका उत्कृष्ट ६ जनालाई सम्मान

त्यस्तै शिखरदीप बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट बचत, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीहरुलाई साधारण सभामा सम्मान गरेको छ । संस्थाले उत्कृष्ट बचत तर्फ मनोज भट्ट र बिर बहादुर बोहरलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट ऋणीतर्फ षष्टी जोरा र गौरी कुमरी विष्ट भण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ सम्झना कुमारी कुँवर खड्का र विमल चौधरी उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएका थिए । उनीहरुलाई पनि दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।