


अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गोदावरीमा छिट्टै लालपुर्जा वितरण हुने बताएका छन् । गोदावरी नगरपालिका वडा नं. ४ मा पहिलो पटक सुरु गरिएको नापीको उद्घाटन गर्दै नगर प्रमुख भट्टले मंसिर ४ को निर्वाचनका कारण रोकिएको लालपुर्जा छिट्टै वितरण हुने बताएका छन् ।



नगर प्रमुख भट्टले मंसिर ४ को निर्वाचनका कारण तयारी अवस्थामा रहेका १३ सय लालपुर्जा छिट्टै वितरण हुने उनले बताए । मंसिरको निर्वाचन अघि हामीले १३ सय लालपुर्जा बनाइसकेका थियौ उनले भने । निर्वाचनको आचारसहिता लागेपछि ति पुर्जा वितरण गर्न नपाएको बताएका छन् ।


वडा नम्बर १ र २ मा तयार भएका लालपुर्जा पनि हामीले वितरण नगरी राख्नुपर्ने अवस्था आएकोले अब आचारसहिता हटेसंगै वितरण गर्ने प्रक्रिया सुरु हुने बताए ।
त्यस्तै लालपुर्जा वितरण गर्ने तयारी गरेपछि राजश्व धेरै भयो भन्ने गुनासो आएकाले त्यसलाई घटाउन पक्रिया अगाडी बढाएको बताए । नेपालमै पहिलो पटक गोदावरी नगरपालिकाले राजश्व घटाउनु पर्छ भनेर राष्ट्रिय भूमि आयोगमा ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए । उक्त ज्ञापन पत्र राष्ट्रिय भूमि आयोगले मन्त्रि परिषदमा पठाएको र अब महशुल घट्ने अपेक्षा लिएको उनले बताए ।





