

डोटी- डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ । सीमान्तकृत वर्गलाई आयआर्जनको मूलधारमा ल्याइ दैनिक जीवनयापनमा सहजता बनाउने उद्देश्यले पहिलो चरणमा नगरपालिकाले कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को पशु सेवा शाखाको ससर्त तथा निसर्त कार्यक्रम अनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।



नगरलाई नमुना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आर्थिक वर्षको कार्यक्रम वडा नम्बर १, २ र ३ मा ग्रामीण कुखुरा प्रवर्द्धन तथा वितरण, घाँसको श्रोत र केन्द्र स्थापना, क्रस बोयर बोका वितरण, माछा पालन अनुदान र नयाँ बाख्रा पकेट विकास कार्यक्रम ल्याइएको मेयर बाजिसिंह खड्का ९विजय० ले बताए। क्रमिक रुपमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने मेयर खड्काले जानकारी दिए ।


अभियान अन्तर्गत तीस लाख पाँच हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिका पशु सेवा शाखाका संयोजक सत्यसुन्दरराज भण्डारीले जानकारी दिए । अघिल्ला आर्थिक वर्षमा स–सानो रकम वितरण गरिएकाले उपलब्धि नदेखिएको गुनासोपछि अहिले एक मुष्ट ३ वडाबाट कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । अबको आर्थिक वर्षमा यसैगरी सम्पूर्ण वडामा लागू गरिने गर्ने नगरपालिकाको योजना छ ।





