

दोहा- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ, अर्को विश्वकपमा ४८ टोली हुनेछन् । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप पहिलेजस्तै विशाल हुनेछ भन्ने प्रश्न पनि उब्जिएको छ । यसको अर्थ कतारमा कमजोर भनिएका धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने मौका पाउनेछन् । यो ती सबैका लागि सुखद् समाचार हो, जसले साउदी अरबले अर्जेन्टिनालाई हराउँदा, जापानले दुई विश्वकप विजेता स्पेन र जर्मनीलाई स्तब्ध पार्दा, मोरक्कोले बेल्जियम र स्पेनलाई प्रतियोगिताबाटै निकाल्दाको मज्जा लिए । चार वर्षपछि यस्ता धेरै ‘सरप्राइज’ले पर्खिरहेका हुनेछन् ।



तर, अझै पनि विश्वकपको आगामी संस्करण अझै भव्य र विशाल हुन्छ भन्ने निश्चित छैन । एकातिर साउदीले यसपाली अर्जेन्टिनाविरुद्ध २–१ को जितसँगै दन्त्यकथा लेखेजस्ता धेरै अवसर बन्नेछन् । अर्कातिर स्पेन र कोस्टारिकाको ७–० जस्ता एकतर्फी खेल पनि धेरै हुनसक्ने छन् । जारी विश्वकपमा इङ्ल्यान्डले इरानलाई ६–२, फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हरायो। कतार २२औं संस्करणमा आएर उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक बन्यो । त्यसैले फिफाले अझै धेरै राष्ट्रको सहभागिता सुनिश्चित गरेसँगै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन अझै गृहकार्य गर्नुपर्ने देखिन्छ ।


‘यसको अर्थ हामी झै १६ वटा राम्रा टिमलाई विश्वकपमा देख्न पाउने छौं’, फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर भन्छन् । उनी फिफाको ४८ मुलुकको विश्वकप अझै उत्साहजनक हुनेमा विश्वस्त छन् ।
सबै महाद्वीपले धेरै टिमलाई सहभागी गराउने मौका पाउने र फिफाका दुई सय ११ वटै सदस्य राष्ट्रहरूका टिम मात्रै सहभागी हुने होइन, धेरैले प्रत्यक्ष हेर्ने र यसबाट फुटबलको विकास हुने आसमा फिफाले यो निर्णय गरेको हो । ‘यदि राष्ट्रिय टिमले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिने मौका पाउँछ भने त्यो देशमा निश्चय नै फुटबलको विकास धेरै हुन्छ’, वेङ्गरले भनेका छन् । एजेन्सी

