चिकित्सा र इन्जिनियरिङ पढ्नेलाई शुक्लाफाँटा नगरले छात्रवृत्ति दिने

कञ्चनपुर- चिकित्सा र इन्जिनियरिङ विषय लिएर पढ्ने शुक्लाफाँटा नगरपालिकामा बसोवास गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ। आर्थिक रुपमा विपन्न र जेहन्दार विद्यार्थीको छनोट गरी नगरपालिकाले चिकित्सा र इन्जिनियरिङ पढनेलाई छात्रवृत्ति दिने भएको हो। चालु आबदेखि चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।

Dadeldhura hospital

‘चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि दुई जनालाई छात्रवृत्ति दिनका लागि नगरसभाबाट निर्णय पारित भएको छ’ उनले भने, ‘नगरपालिका क्षेत्रभित्रका गरीब, आर्थिक रूपमा विपन्न र जेहेन्दार एक÷एक जना विद्यार्थीलाई इन्जिनियरिङ्ग र चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति दिन्छौँ।’

Navadurga sun
Godawari sandesh

उनका अनुसार चिकित्सा शास्त्रका विद्यार्थीलाई रु १० लाख र इन्जिनियरिङ पढ्नेलाई रु ५ लाख छात्रवृत्ति दिइने भएको छ। छात्रवृत्ति उपलव्ध गराउनका लागि आवश्यक मापदण्ड सहितको निर्देशिका निर्माणका क्रममा रहेको उनले जानकारी दिए। ‘छात्रवृत्ति वितरणका लागि निर्देशिका निर्माणको क्रममा रहेको छ’ उनले भने, ‘निर्देशिकामा निर्दिष्ट गरिएका मापदण्ड अनुसार छात्रबृत्ति वितरण गर्छौं।’

नगरपालिकामा बसोवास गर्ने अति विपन्न परिवारको प्राविधिक शिक्षामा पहुँच पुर्‍याउनका लागि छात्रवृत्तिको कार्यक्रम ल्याइएको नगर उपप्रमुख कल्पना पन्तले बताइन्। ‘आर्थिक रुपमा विपन्न परिवारले आफना छोरा छोरीलाई अरूझैँ प्राविधिक शिक्षा पढाउने चाहना राख्छन्, बालबालिका पढ्नमा अव्वल समेत हुन्छन, आर्थिक अभावले पढाउन सक्दैनन्’ उनले भनिन् ‘त्यस्ता परिवारलाई लक्षित गरी छात्रबृत्तिको कार्यक्रम ल्याएका छौँ।’ यस कार्यक्रमलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिईने उनले जानकारी दिइन्।

Loading...