सुदूरपश्चिममा प्रदेशमा आयोडिन नूनको मौज्दात पर्याप्त

सुदूरपश्चिम प्रदेशमा आगामी नौ महिनासम्म पुग्ने एक लाख ८० हजार ६८७ क्विन्टल आयोडिनयुक्त नून मौज्दात रहेको छ।

आयोडिन नून बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेले प्रदेशका दुर्गम जिल्ला बझाङ, बाजुरा, अछाम र दार्चुलाको हकमा ढुवानी अनुदानमा नून आपूर्ति भइरहेको बताए।

Navadurga sun

“दुर्गम जिल्लामा पनि आगामी दशैँसम्म खान पुग्ने नून छ”, उनले भने, “यी जिल्लामा बिक्री मूल्यप्रति किलो रु नौ निर्धारण गरिएको छ।” चालु वर्षमा यी जिल्लामा ३८ हजार क्विन्टल नून ढुवानी गर्नुपर्नेमा हालसम्म ३४ हजार क्विन्टल ढुवानी भइसकेको छ। यही जेठभित्र बाँकी परिमाणको नून ढुवानी भइसक्ने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा कुल जनसङ्ख्याको झण्डै ८५ प्रतिशतले आयोडिनयुक्त नून उपभोग गरिरहेको कर्पोरेशनले जनाएको छ। विसं २०५६ सम्म प्रदेशमा आयोडिन नून उपभोग गर्नेहरू जम्मा दुई प्रतिशत रहेका थिए। डोटी, बैतडी र बझाङ जिल्लाका केही क्षेत्रमा भने आयोडिनको मात्र नभएको ढिके नून बढी मात्रामा उपभोग गर्ने गरिएको जनाइएको छ।

कोरोना महामारीको सङ्कटबीच भारतको उत्तर प्रदेशबाट सुदूरपश्चिम प्रदेशसम्म ढुवानी गरेर बिक्री वितरण गर्नुपर्ने पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा पनि हाल त्यस्तो कुनै समस्या छैन। नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढी कार्यालयका निमित्त प्रमुख गणेशराज जोशीले भारत र नेपालमा देखिएको कोरोना भाइरसको महामारीको सङ्कटबीच सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्तिमा हाल कुनै समस्या नरहेको बताए।

“प्रदेशका जिल्लाहरूमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको खपत पनि घटेकोले आपूर्ति व्यवस्थामा समस्या देखिएको छैन”, उनले भने, “कोरोनाको जोखिमबीच ट्याङ्करका चालकहरू भारतका डिपोसम्म पुगेर सुरक्षित ढङ्गले तेल भरेर आइरहेका छन्।” आयल निगमको क्षेत्रीय कार्यालयसँग रहेको तेल भण्डारण गर्ने दुई ट्याङ्कीमा पर्याप्त डिजेल तथा पेट्रोल मौज्दात छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...