सुदूरपश्चिमका केही ठाउँमा बाढी

काठमाण्डौ – अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।

पछिल्लो ६ घण्टामा डडेल्धुरामा ८० मिलिमिटर पानी परेको छ । यस्तै बाजुरामा ३५ मिलिमिटर र ताप्लेजुङमा ६६ मिलिमिटर पानी परेको छ । मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको छ ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

आज दिउँसो पनि मधेस प्रदेश र प्रदेश १ बाहेक बाँकी सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए। दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना छ । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच ठूला पानी परेका ठाउँमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन–चार घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

डडेल्धुराको गैबन्दे, कञ्चनपुरको केही क्षेत्र र दैलेखको ग्वाँटी आसपासको क्षेत्रमा ठूलो पानी परेकाले यी ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम भएको हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । लोहोरेखोला, रंघुन, चौधरलगायतका साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा र पहिरो जानसक्ने भिरालो जमिनमा बस्ने नागरिकलाई आज बिहान ९ बजेसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Loading...