सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निषेधाज्ञा


अत्तरिया, २१ बैशाख- नेपालमा कोरोना संक्रमितहरूको संख्यामा तीव्र रुपमा बृद्ध हुन थालेपछि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । सोमबारदेखि बैतडी, अछाम, बाजुरा र डोटीमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागु भएका जिल्लाको संख्या नौ पुगेको हो ।


भारतसँग सीमाना जोडिएका कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो । एक हप्ताका लागि लगाइएको निषेधाज्ञा थप भएर वैशाख मसान्तसम्मका लागि लम्बाइएको छ ।


जिल्ला प्रशासन कार्यालय अछामले बैशाख १९ गते राती १२ बजे देखि जेठ २ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । त्यसैगरी स्वास्थ्य मापदण्डको पूणर् पालना गर्दै बिहान ५ बजेदेखि १० बजेसम्मका लागि खाद्य सामग्रीका पसलहरू खोल्न पाइने बताइएको छ ।
जिल्लामा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि जिल्लामा संक्रमित संख्या १८५ पुगेको स्वास्थ कार्यालयका कोभिड सम्पर्क व्यक्ति मीन कुँवरले जानकारी दिए । कोरोनाको दोस्रो लहरमा ४ जनाको मृत्यु भइसकेको कुँवरले बताए । सबैभन्दा बढी बान्नीगढी जयगढ गाउँपालिकामा ६५ भन्दा बढी संक्रमित छन् ।

जिल्ला प्रशासन डोटीले पनि १० दिनका लागि सोमबार राति १२ बजेदेखि लागू हुने गरी वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन संचालनमा रोक लगाइएको छ ।
त्यसैगरी स्वास्थ्य मापदण्डको पूणर् पालना गर्दै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मका लागि खाद्य सामग्रीका पसलहरू खोल्न पाइने बताइएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूले भीडभाड नहुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सेवा निषेधाज्ञा अवधिभर स्थगित गर्न भनिएको छ । सो अवधिभर सभा, सम्मेलन, जात्रा, महोत्सवलगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ ।
जिल्लामा संक्रमितको संख्या १ सय ९८ पुगेसँगै निषेधाज्ञा जारी हो । डोटी जिल्लामा सोमबार मात्रै ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । दार्चुला र डडेल्धुराले आइतबारदेखि नै निषेधाज्ञा जारी गरिसकेको छ ।
त्यसैगरी बाजुरामा पनि बुधबार बिहीबार बिहान ५ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बुधबारदेखि निषेधाज्ञा जारी गर्ने निणर्य सोमबार गरिएको जानकारी दिए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहने बताइएको छ । अत्यावश्यक सवारी साधन जस्तैः एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनको सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने छन् । खाद्य सामग्रीका पसलहरू बिहानको समयमा खोल्ने र अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न पाइने छैन । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् ।
विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।



