गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु
गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाइने


अत्तरिया, २१ बैशाख- गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य मंगलबारदेखि सुरु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।






उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनका अनुसार होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण भइरहेको छ । तत्काललाई ५ सय बेडको आइसोलेसन बनाइन लागेको भएपनि गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको समेत बताएका छन् ।
अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए । मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेका थियो । सोही बैठकमा मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिएका थिए । मेडिकल कलेज पूर्बाधार समिती गेटा कैलाली र गोदावरी नगरपालिका बिच मेडिकल कलेजको भबनमा कोभिड १९ दोस्रो चरण केयर सेन्टर बनाउने सम्झौता भएको छ ।
त्यसको रेखदेख को जिम्मा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले गर्ने छन् । मेडिकल कलेजको काममा कुनै ब्यबधान नहुने गरी नगरपालिकाले तोकेका कर्मचारीले आइसोलेसनको रेखदेख, उपचार, स्वास्थ्य सामग्रीको आपुर्ती गर्न सक्ने गरी सम्झौता भएको गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीले जानकारी दिए ।



