निजी अस्पतालहरुबाट पनि कोरोना संक्रमितको उपचार हुने

अत्तरिया, १७ बैशाख- कैलालीको अत्तरिया र धनगढीका निजी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार हुने भएको छ ।

अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पताल, पदमा अस्पताल सहित जिल्लाका १० निजी अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयबीच शुक्रबार कोरोना संक्रमितको उपचार गर्न सहमति भएको हो । प्रदेश सरकारसँगको सम्झौता अनुसार निजि अस्पतालहरुले ५ देखि १० शैया सम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गरिने भएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालमा मात्रै ४० बेडको वार्ड स्थापना गर्ने मन्त्रालयसँग सहमति भएको छ । यस्तै ५० शैयाको स्वीकृति पाएका अत्तरियाको पद्यमा अस्पताल र धनगढी स्थित नवजीवन अस्पतालले १०/१० तथा १५ देखि २५ शय्यासम्मका अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निसर्ग अस्पताल, सीपी हस्पिटल, केजी हस्पिटल, नोभा अस्पताल, सारथी अस्पताल र ओम आशा अस्पतालले ५/५ शय्याको कोभिड वार्ड सञ्चालन गरेर संक्रमितको उपचार गर्नेछन् । १० वटा निजी अस्पतालले ६० शय्या बराबरको कोभिड वार्ड सञ्चालन गर्दा अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेड समेत गरेर एक सय बेडको कोभिड वार्ड स्थापना गर्ने सम्झौता भएको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयसँगको सम्झौताअनुसार कोभिड वार्ड स्थापना गर्न लागेका अत्तरिया र धनगढीका निजी अस्पतालमा उपचार गर्ने संक्रमितको खर्च भने सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्नेछ । अस्पतालहरुसँग भएको सम्झौताअनुसार सामान्य संक्रमितको दैनिक तीन हजार पाँच सय रुपैयाँ, अक्सिजन सपोटमा राखिने संक्रमितको दैनिक ७ हजार रुपैयाँ, आईसीयूमा भर्ना हुने संक्रमितको १० हजार रुपैयाँ र भेन्टिलेटरमा भर्ना हुनेको दैनिक १५ हजार रुपैयाँका प्रदेश सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । क्याबिन लगायतका अतिरिक्त सेवा लिने संक्रमितले भने तोकिएको बाहेकका शीर्षकको खर्च आफैंले सम्बन्धित अस्पताललाई तिर्नुपर्ने कार्कीले बताए ।

Loading...