पहिलो पटक भित्र्याइयो सुदूरपश्चिममा चारपांग्रे धान रोप्ने मेसिन

कञ्चनपुर, १२ असार– सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो ।

डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रिया मार्फत धान रोप्ने मेसिन खरिद गरेको छ । खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्य समेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिए ।

Navadurga sun

‘प्रदेशमै पहिलोपटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका छौँ’, उनले भने, ‘यस मेसिनको मद्दतले एक घण्टामा एक बिघा खेतमा बर्खे र चैते धान सहज रूपमा रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको छ ।’ धान रोप्न मेसिन प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नु पर्दैन ।

‘चालु आवमा मेसिनलाई परीक्षणका रूपमै सञ्चालन गर्छौँ’, कार्यालय प्रमुख रिमालले भने, ‘किसानको प्रतिक्रिया लिएर अर्को आवदेखि कार्यालयबाटै करारमा चालकको व्यवस्था गरी किसानलाई थोरै शुल्क लिएर मेसिन उपलब्ध गराइने योजना बनाउँछौँ ।’

चितवन लगायतका ठाउँमा धान रोप्ने मेसिनको प्रयोग सहज रूपमा भइरहेको देखेपछि किसानलाई धान रोप्नमा सहजता ल्याउन र किसानलाई आधुनिक कृषियन्त्रप्रति आकर्षित गराउन मेसिन ल्याइएको उनले जानकारी दिए । परियोजना अन्तर्गत १० बिघा जग्गामा धानखेती गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...