गर्मी बढेसँगै महाकाली प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै
कञ्चनपुर, २१ जेठ– गर्मी बढेसँगै महाकाली प्रादेशिक अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ । केही दिनयता झाडापखाला र ज्वरो लगायतका बिरामीको चाप बढ्न थालेको हो ।

महाकाली प्रादेशिक अस्पतालमा अहिले दैनिक ३०/ ३५ जना ज्वरो र पखालाका बिरामी आउने गरेका छन । अहिले अस्पतालको ओपिडिमा दैनिक ३/४ सय र इमर्जेन्सीमा एक सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन ।
‘गर्मी बढेपछि बिरामीको चाप पनि बढेको छ,’ महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले भने, ‘पखाला, ज्वरो र स्क्रबटाइफसका बिरामीहरू भर्ना हुन थालेका छन ।’
दैनिक तीन चार जना पखालाका बिरामी भर्ना भइरहेका छन । इमर्जेन्सी कक्षमा पनि पखाला र ज्वरोकै बिरामी बढी । ‘ खानपिनकै कारण पखालाका बिरामीहरू बढी भर्ना भएका छन्,’ डा. भट्टले भने, ‘गर्मीबाट पनि जोगिनुपर्छ, खानेकुरा पनि त्यस्तै खानुपर्छ ।’