कञ्चनपुर, १९ जेठ– शुक्लाफाँटा नगरपालिका नौखरीस्थित बृन्दावन सामुदायिक गाईगोरु व्यवस्थापन केन्द्रमा पूर्वाधारको अभाव हुँदै आएको छ । केन्द्रमा नगर क्षेत्रमा छाडारूपमा छाडिएका गाईगोरुलाई ल्याएर राख्ने गरिएकाले तिनको सङ्ख्या पनि निकै बढी छ तर त्यसलाई धान्ने पूर्वाधार अभाव रहेको केन्द्रको व्यवस्थापनको कार्य गर्दै आउनु भएका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।
केन्द्रमा हालसम्म गाईगोरु राख्नका लागि ३ वटा जस्तापाताका ट्रष्ट, खानेपानीका लागि ५ वटा अटोजन नल्का, २ वटा बोरिङ, ४ वटा सौर्य बत्ती, ३ कोठे पक्की भवन निर्माण गरिएको छ । गाईगोरु राखिँदै आएको सामुदायिक वन क्षेत्रको ४ किलोमिटर क्षेत्रमा काँडेर तार लगाइएको छ । ‘गाईगोरु व्यवस्थापन केन्द्रमा विद्यमान संचरनाले पुग्दैन’, वडाध्यक्ष ऐरले भने, ‘केन्द्रमा ४०० भन्दाबढी बेवारिसे गाईगोरुलाई राखेका छौँ । यसका लागि अझै ३ वटा ट्रष्ट निर्माण गरिनु आवश्यक छ । गाईगोरुको संख्या बढी हुँदा वर्षाको समय र हिउँदमा खुला आकासमुनि राख्नुपर्ने बाध्यता छ ।’
निर्माण भएका संरचनामा थोरैमात्रै गाईगोरुलाई राख्न सकिन्छ । धेरैलाई खुला आकाशमै राख्नुपर्छ । यस्तो अवस्थमामा अत्यधिक चिसो र वर्षातका कारण गाईगोरुको ज्यान समेत जाने गरेको उनको भनाइ छ । गाईगोरुलाई सुरक्षितरूपमा राख्नका लागि भौतिक पूर्वाधारको पूणर्ता नभएको वडाध्यक्ष ऐरले बताए ।

केन्द्रमा राखिएका गाईगोरुलाई चरन क्षेत्रको समेत अभाव छ । बृन्दावन सामुदायिक वन क्षेत्र मात्रै गाईगोरुको चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ । अन्य सामुदायिक वनले चराउनका लागि अनुमति नदिँदा समस्या भएको छ । गाईगोरु बिरामी हुदा पशु प्राविधिक बाह्य क्षेत्रबाट चर्को शुःल्क तिरेर ल्याउनुपर्ने अवस्था रहेकाले यस्तो समस्या समाधान गर्न केन्द्रमै पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा अध्यक्ष ऐरले जोड दिए । नगरपालिकाको कार्यालयलाई यसबारे पटक-पटक लिखित र मौखिकरूपमा जानकारी गराउँदा समेत बेवास्ता हुँदै आएको उनले उल्लेख गरे । उपचारकै अभावमा कतिपय गाईगोरुको मृत्यु समेत हुँदै आएको छ ।
केन्द्रमा व्यवस्थापन गरिएका गाईको नश्ल सुधार गरी उन्नत प्रकारका बाछाबाछी उत्पादन गरी बिक्री गर्ने योजनासमेत छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्ने कार्यलाई अगाडि बढाइएको छ । कृषिमा प्रयोग हुँदै आएको रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्नका लागि प्राङगारिक मल उत्पादन गरी सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष ऐरले बताए । केन्द्रमा ठूलो क्षमताको गोबरग्यास प्लान्ट निर्माण गर्ने योजनास मेत अघि सारिएको छ ।
बजेट अभावले गाईगोरुका लागि घाँस खेतीलाई अगाडि बढाउन नसकिएको गुनासो गर्दै उनले आउँदो आवदेखि जग्गा लिजमा लिएर भए पनि घाँसखेती गरिने बताए । नगरपालिकाले गाईगोरु व्यवस्थापन केन्द्र सञ्चालनका लागि बजेटको व्यवस्था गर्दै आएको छ । ‘प्रतिवर्ष विनियोजन हुने बजेटले केन्द्र सञ्चालन गर्न निकै धौधौ छ’, अध्यक्ष ऐरले भने, ‘गाईगोरु हेरालुहरूका लागि तलब दिनमै बजेटको ठूलो हिस्सा सकिन्छ । व्यवस्थापनका लागि थोरै रकम हुँदा पुर्याउनै सकस हुन्छ ।’ चालु आवमा गाईगोरु व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन भएकामा रु ३२ लाख खर्च भइसकेको छ ।
नवनिर्वाचित नगरप्रमुख रणबहादुर महराले गाईगोरु व्यवस्थापनको कार्यलाई प्रदेशकै नमूना बनाउने बताए । ‘नगर क्षेत्रमा विगतमा छाडा गाईगोरु ठूलो चुनौतीका रुपमा थिए’, उनले भने, ‘केन्द्र निर्माणपछि व्यवस्थापनको कार्य भएको छ । समस्या समाधान हुँदै गएको छ । व्यवस्थापनको कार्यलाई नमूनाका रूपमा अगाडि बढाइने छ ।’ (रासस)