कञ्चनपुर, ११ जेठ– कञ्चनपुरको पुनर्वासमा नेपाली कांग्रेसको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ ‘ग’ गाउँमा कांग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको हो ।

मंगलबार छापाली लाईनको सुर्खेती चोक नजिकै विजयी यात्रामा जाँदै गरेको से२त २१९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाका घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुनर्वासका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा धनगढीको माया मेट्रो हस्पिटलमा पुगेका थिए । हस्पिटल पुगेका मेयर शर्माले घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन अनुरोध गरेका हुन् । घाईते हुनेहरुमा महिला र केटीहरु छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको बुझिएको छ ।