क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै कैलालीको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



अत्तरिया, १० बैशाख- कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीको बौलियामा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नं.४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो ।
दिउँसो करिब ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।
ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएका थियो ।
यता कैलाली प्रहरीले भने ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।



