दार्चुलामा जिप दुर्घटना हुँदा ८ जना घाइते
दार्चुला, २६ चैत- दार्चुलामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आज बिहान मार्मा गाउँपालिका वडा नं. २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जिप सडकमा पल्टिएको हो । जिपमा १० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चालक अनुमति पत्र नै नभएका चालकले जीप चलाउदा दार्चुलामा दुर्घटना भएको खुलेको छ ।



मार्मा-१ पारीबगडका सवारी धनी तथा चालक देबेन्द्र टमटाले चलाएको जीप दुर्घटना भएको हो । उहासंग सवारी साधन चलाउन आवश्यक पर्ने चालक अनुमति पत्र नरहेको खुलेको छ । अपर चमेलियाको समान बोकेको माल बाहक ट्रकलाई साइड दिदा जीप सडक छेउमा पुगेर पल्टिएको बताइएको छ ।
जीप दुर्घटना हुँदा मार्मा-१ गुल्जरका ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ८६ वर्षिय रतन सिंह धामी, उमेर नखुलेका रघुविर सिंह धामी, दिया धामी, परुली धामी, जानकी ठगुन्ना, पाना महर, वकिल ठगुन्ना र देवान ठगुन्ना रहेका छन् ।
घाइते मध्ये दिया धामीको अवस्था नाजुक रहेको बुझिएको छ । घाइते सबै जनाको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालक सहित ९ जना सवार रहेका थिए । दुर्घटना पछि चालक देवेन्द्र टमटा फरार रहेको प्रहरीले जनाएको छ ।