पदमा अस्पतालको सेवा सुचारु, तोडफोडवाट ७० लाखको क्षति




अत्तरिया, २० चैत- कैलालीको अत्तरियामा रहेको निजि क्षेत्रवाट संचालित पदमा अस्पतालमा भएको तोडफोडवाट ७० लाखको क्षति भएको छ ।


शनिबार कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तलाई १५ लाख क्षतिपूर्ति दिइएको छ । शनिवार साँझ अस्पताल प्रशासन, प्रहरी र स्थानीयबीच भएको सहमति अनुसार अस्पतालले सो रकम दिएको हो । उक्त सहमति भएसँगै आफन्तले शव बुझेका थिए । सहमति भएपछि शनिवार साँझबाटै अस्पतालले पनि आफ्नो सेवा सुचारु गरेको थियो ।



शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी नगरपालिका-३ का बिनोद कुमार बोहरा उपचारकै क्रममा शनिवार बिहान मृत्यु भएको थियो । झाडापखाला भएर अस्पताल पुगेका भनिएका उनको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा ढुंगामुडा गरेका थिए । ढुंगा मुडाबाट अस्पतालको संरचना, एम्बुलेन्ससहित ३ ओटा गाडी, ल्याबका मेशिन, आइसियू मोनेटर तथा उपकरणहरुमा क्षति पुगेको पद्मा अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा. नरबहादुर मौनीले बताए ।
डा. मैनालीले सत्यतथ्य नबुझेर अस्पतालमा तोडफोड गर्नु गलत भएको बताएका छन् । ‘घटनाको अनुसन्धान हुनुपथ्र्यो । त्यसपछि अस्पताल प्रशासनले गर्ने कारबाही अगाडी बढाउथ्यो। त्यसपछि हामीले के गर्नुपथ्र्यो गथ्र्यौ’, उनी भन्छन्, ‘तर यहाँ हुलहज्जत गरी अस्पतालमा तोडफोड गरियो । विरामीलाई मृगौलाको समस्या थियो । उक्त कुरा नबुझी आक्रोशित भएर अस्पतालमा क्षति पुगाइयो ।’ उनका अनुसार तोडफोडबाट अस्पतालमा ७० लाखभन्दा बढीको क्षति भएको छ ।
आक्रोशित स्थानीयले अत्तरिया बजारमा यातायातका सवारी साधन समेत ठप्प पारेका थिए । उनीहरुले अस्पतालका डाक्टरहरुको लापर्बाहीका कारण बोहराको मृत्यु भएको भन्दै क्षतिपूर्ति तथा अनुसन्धान गरी दोषीलाई सजायको माग राखेका थिए ।