कैलालीकाे गोदावरीमा भूमिहिनको जग्गा नापीको काम सुरु





अत्तरिया, ९ चैत- कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका वडा नं. ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा गर्न सुरु गरेको हो ।


जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले सुभारम्भ गरेका छन । उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम दुर्त गतीमा अगाडी बढाईने बताए । उनले अहिले पनि दक्ष प्राबिधिको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताएका छन् ।


जग्गा नापीको सुभारम्भ कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापीको काममा सहयोग गर्न स्थानीयलाई आग्रह गरेकी छिन । उनले जग्गा नापीको काममा विवाद भए काममा ढिलाई हुन सक्ने बताईन ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच पुस २४ गते सम्झौता गरिएको थियो ।
यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग संग भएको सम्झौताको १ बर्ष पछि पुनः वर्तमान सरकारले गठन गरेको अर्को आयोग संग सम्झौता भएको थियो ।
यसअघिको भूमिसम्बन्धी समस्या समाधान आयोग शेर वहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट साउन १९ गते खारेज गरिएको थियो । भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि पुनः सम्झौता गरेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडी बढेको थियो ।
नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।



